फ्रान्सको पेरिसमा एकल नेपाली नृत्य प्रतियोगिता २०१२ हुने

Published On: Saturday, January 21, 2012 | Source: NRNA SAUDI ARABIA

२१ जनवरी २०१२

युरो एकल नेपाली नृत्य प्रतियोगितालाई अन्तराष्ट्रिय कलाकार मन्च युरोप महाशाखाले पूर्ण सहयोग गर्ने गत वर्ष जस्तै यो वर्षको युरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२ फ्रान्सको पेरिसमा हुने भएको छ।  नेपाली नयाँ वर्ष २०६९ को अवसर पारेर आगामी १५ अप्रिल २०१२ का दिन आयोजना गरिने यो प्रतियोगात्मक कार्यक्रमलाई अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखा र अन्तर्गतका शाखाहरुले प्रमूख सहयोगीका रुपमा सक्दो सहयोग गर्ने भएका छन ।

यो कार्यक्रमले नेपाली कला र संस्कृतिको उत्थान गर्न र नृत्य  बिधाका कलाकारहरुको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा परिचित गराउन मद्द्त गर्ने हुँदा आफूहरुले यो कार्यक्रमलाई सकेसम्मको सहयोग गर्नलागेको कुरा अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखाका अध्यक्ष श्री निता श्रेष्ठले हामीलाई जानकारी गराउनु भयो । उहाँले कार्यक्रमको मुख्य आयोजक नेपाली एकता समाज फ्रान्स भएपनि सह-आयोजकका रुपमा फ्रान्स, नेदरल्यान्डस, बेल्जियम, लग्जम्बर्ग, जर्मनी, पोल्यान्ड, इङ्ल्यान्ड, इटाली, स्पेन र पोर्तुगल लगायतका देशहरुमा रहेका धेरै  संघसंस्थाहरुको साथमा आफ्नो संस्था पनि रहेको र यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण शाखाहरुलाई समेत विषेशरुपमा अनुरोध गरी पत्राचार गरिएको जानकारी समेत हामीलाई दिनुभयो ।

यस्तै हामीसँगको टेलिफोन कुराकानीमा महाशाखाका वरिष्ठ उपाध्यक्ष र प्रमूख कार्यक्रम संयोजक पुष्प बरुवालले युरोपस्तरीय नृत्य  प्रतियोगिता आयोजना गर्नुपर्ने कारण र यसको सफलताको लागि महाशाखाले गर्ने सहयोगबारे जानकारी गराउनु भयो । उहाँकाअनुसार यस कार्यक्रममा विषेश अतिथिको रुपमा नेपालबाट मिथिला शर्मा, प्रदिप बम्जन र अमेरिकाबाट अध्यक्ष रामप्रसाद खनाललाई समेत आमन्त्रण गर्न लागिएको छ ।

यससम्वन्धी सम्पूर्ण जिम्मेवारी महाशाखाका अध्यक्षलाई दिएको छ ।  यस प्रतियोगितामा पहिलो पटक इङ्ल्यान्डबाट समेत सहभागीता रहन लागेको जानकारी गराउदै उहाँले यो प्रतियोगितालाई सफल बनाउन आफ्नो प्रमूख साँगीतिक सहकर्मीको रुपमा रहेको युरो नेपाल कलाकार संघ,  बेल्जियमबाट समेत बिगतमा जस्तै सौहार्दपूर्ण सहयोग र सहभागीता निरन्तर रहने बताउनु भयो । लुकेर रहेका प्रतिभाहरुको पहिचान गर्ने र उनीहरुको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा परिचित गराउन यसप्रकारको कार्यक्रम अतिनै सहायकसिद्ध हुने कुरामा आफूहरु पूर्णरुपमा विश्वस्त रहेको कुरा हामीसँगको कुराकानीमा कलाकार मन्च, युरोप महाशाखाका महासचिव श्री उज्वल केसीले बताउनु भयो । उहाँले कला संस्कृतिको प्रवर्धन गर्न र कलाकारहरुको हितको लागि अन्तराष्ट्रिय कलाकार मन्च, युरोप सधैं तत्पर रहने बताउदै अब संसारभरका कलाकारहरु एक हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै, उहाँले आफूहरु विशुद्धरुपमा गीत-संगीतका सर्जक, निर्देशक, अभिनयका कलाकारहरुलगायत कला र संस्कृतिसँग सम्बन्धित सबै पक्षसँग एक भएर अघिबढ्ने एउटा अभियानमा लागेको जानकारी गराउदै आफ्नो यस अभियानमा एकवद्ध हुन सम्बन्धित सबैलाई विषेश अनुरोध समेत गर्नुभयो ।

( साभार – नेपाल जापान डट् कम् )