घरेलु महिला कामदारबारे एनआरएनए साउदीको धारणाः

Published On: Source: NRNA SAUDI ARABIA

२२ फेब्रुवरी, २०१६

तेज थापा, साउदी अरब ।  

साउदी अरबमा नेपाली महिलाहरू घरेलु कामदारकारूपमा ल्याउने प्रकृया र सम्झौता पत्र तत्काल अघि नबढाइयोस भनि गैरआवासिय नेपाली संघ साउदि अरबले गत मिति २७ जनवरी, २०१६ मा नेपाल सरकार श्रम मन्त्रालयलाइ ध्यानाकर्षण पत्र सम्प्रेषण गर्दै नेपाली राजदुतावास साउदी अरब, नेपाल वैदेशिक रोजगार बिभाग काठमाडौ, नेपाल सरकार पररास्ट्र मन्त्रालय काठमाडौं का साथै गैर आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रिय सचिवालय टेकु काठमाडौंमा समेत बोधार्थ सहित जानकारी गराएको थियो ।

सोही अवधारणालाइ आज प्रेश बिज्ञप्ती मार्फत सार्वजानिक गर्दै सम्बन्धित सरोकारवालहरूसँग अनुरोध सहित पुनः ध्यानाकर्षण गरेको छ । प्रेश बिज्ञप्तीमा क्रमशः नेपाली घरेलु महिला कामदारहरू ल्याउन/पठाउन नहुने कारणहरू, रोकथामका उपायहरू, स्वदेश फिर्तिका लागि चाल्नुपर्ने आवश्यक कदमहरू र कस्तो अवस्थामा नेपाली महिलाहरूलार्इ घरेलु काममा पनि पठाउन सकिन्छ भन्ने बुंधाहरू उल्लेख गरिएकोछ ।

प्रेश बिज्ञप्तीको पुर्ण पाठ यसप्रकार रहेकोछः Document-page-001 Document-page-002 Document-page-003

प्रेश बिज्ञप्ती

घरेलु महिला कामदारबारे एनआरएनए साउदीको धारणाः

हाल नेपालले पनि साउदी अरबसंग घरेलु महिला कामदारहरू सप्लार्इ गर्ने बारेको सम्झौताको तयारी तथा बिचार बिमर्श भैरहेकाले यस बिषयमा एनआरएनए एनसिसी साउदी अरब आफ्नो धारणा यस प्रकार सार्वजनिक गर्दछः

१. साउदी अरबमा नेपाली घरेलु महिला कामदारहरू ल्याउन/पठाउन नहुने कारणहरू के के हुन ?

त्यसो त साउदी अरब नेपालबाट घरेलु महिला कामदार ल्याउनकालागि निरन्तर रोकिइराखेको मुलुक नै हो तर पनि यस मलुकमा भारत र खाडीकै कुवेत लगायतका मुलुकहरूबाट भित्रिने नेपाली महिलाहरूको संख्या निकै ठूलो छ । महिला ल्याउन अनुमति पाएका केही खाडी मुलुकहरूको यथार्थ अवस्थाको अध्ययन गर्दा समेत घरेलु काममा आउने नेपाली महिलाहरूले बिभिन्न समस्याहरू भोग्नुपरेकाले नै हामी साउदी अरब नेपाली महिलाहरू घरको काममा लागि आउन उपयुक्त गन्तब्य मुलुक होइन भन्ने निस्कर्षमा पुगेको जानकारी गराउंदछौं ।

समस्याहरूलार्इ मुलतः २ श्रेणीमा हेर्नसकिन्छः

(अ) घर मालिकबाट उब्जिएका समस्याहरुः

क) घर मालिकको कब्जामा राहदानी ।

ख) घरेलु कामदारलाई आप्रवासी कामदारको रुपमा मान्यता नदिनु ।

ग) आराम बिनाको लामो कार्य समय ।

घ) घुमफिरमा रोक ।

ङ) तलब नदिने-करारमा तोकिए बमोजिमको नपाउने ।

च) शारीरिक एवं मानसिक शोषण ।

छ) डर त्रास एवं धम्कीपूर्ण अवस्था ।

ज) बाध्यात्मक श्रमिकको रुपमा काम गर्नु पर्ने ।

झ) अत्याचार सहन नसकी भाग्दा चोरी लगायत अन्य मुद्दा लगाएर झनै पीडित गराउने अवस्था (कफाला प्रणालीमा पीडित नै उल्टै अपराधी ठहरिने) ।

ञ) घरबाट भाग्ने क्रममा विभिन्न एजेन्टहरुको चंगुलमा फसी देह व्यापार गर्न बाध्य पारिनु ।

ट) प्रयाप्त मात्रामा खाना खान नदिने ।

ठ) समयमा उपचारको अभाव ।

ड) करार अवधि सकिए पनि घर जान नदिई लामो समयसम्म जब्बरजस्ती काम गराइरहने ।

ढ) खुल्ला सिमानाको कारणले एउटा मुलुकको श्रम स्वीकृति लिई अर्को मुलुक लैजाने ।

ण) घर र आफन्तसंग सम्पर्क गर्न नदिने ।

त) समयमा भीषा नलगाई गैर कानूनी हैसियतमा काम गराउने ।

थ) स्पोन्सरले मनोमानी तरिकाले घरेलु कामदारलाई Recruiting Agency वा अर्को स्पोन्सरकोमा बेच्ने।

द) अत्याधिक कामको बोझ ।

ध) लैंगिक हिंसा ।

(आ) एजेन्सीहरु र उनीहरुका दलालको कमी कमजोरी

क) घरेलु कामदारलाई यथार्थ स्थितिको बारेमा जानकारी नदिई मीठा मीठा सपना मात्र बाड्ने गरेको ।

ख) घरमा काम गर्न नसकी कफला अवधि भित्र भागेर सम्बन्धीत एजेन्सीको अफिस आएका महिला कामदारलाई शारिरीक एवं मानसिक यातना दिने गरेको ।

ग) कफला अवधि अर्थात जिम्मेवारीको अवधि सकिए पछि कामदारलाई भाग्न प्रेरित गर्ने गरेको र कफला अवधि पश्चात आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति ।

घ) काम गर्न आएका वा कामबाट भागी आएका कामदारलाई विभिन्न प्रकारले शोषण गर्ने गरेको भन्ने वारम्वार उजुरी पर्ने गरेको ।

ङ) कामदारलाई छोटो अवधिको लागि काममा पठाई आर्थिक शोषण गर्ने जस्ता गैर कानूनी काम गर्ने गरेको ।

२. महिला कामदारहरूको अबैध बेचबिखन कसरी रोक्ने ?

(क) सबै नेपाली तथा भारतिय दलालहरूलाई खोजीगरि कानूनी कार्बाही गर्नु गराउनुपर्दछ ।

(ख) भारतिय नाका तथा बिमानस्थलहरूमा बिशेष निगरानी र चेकजांच गरी यस्तो अबैध बेचबिखन रोक्न सरकारी स्तरमै नेपाल सरकारले भारत सरकारसंग वार्ता गरी अधिकतम प्रयत्न गर्नुपर्दछ ।

(ग) सकभर खाडीमा घरेलु महिला कामदारहरू नआउने, आउनै पर्दा पनि सबै मापदण्डहरूको पूर्ण पालनाको सुनिश्चित भएमात्र आउनसकिन्छ, संगठित क्षेत्रमा भने समस्या नरहेकाले खाडीमै पनि आउन सकिन्छ ।

(घ) कुवेत लगाएत साउदि अरबसँग सिमा जोडिएका बिभिन्न मुलुकहरूबाट नेपाली महिलाहरू घरेलु कामदारका रूपमा स्थान्तरण गरि साउदी पठाइने हुनाले सम्बन्धित मुलुकहरूसँग नेपाल सरकारले कुटनितिक पहल गरि स्थान्तरण गर्न गराउनमा रोक लगाउनु पर्दछ ।

३. उद्धार तथा स्वदेश फिर्तिका लागि चाल्नुपर्ने आवश्यक कदमहरू

(क) स्वदेशी तथा बिदेशी दलालहरूलार्इ उद्धार तथा स्वदेश फिर्तीमा आउने खर्च जरिमाना स्वरूप ब्यहोर्न लगाउने साथै उनीहरूलार्इ कानूनतः जेल सजाय समेत दिलाउने ता कि फेरी अरू महिलाहरू बेचिनबाट जोगिउन

(ख) साउदी सरकारसंग सरकारी वार्ता तथा समझदारी गरी आफ्ना नागरिकको रक्षा र उद्धार गर्न नेपाली दूतावास र यसले खटाउने प्रतिनिधीलार्इ साउदीका घरभित्रै गर्इ उद्धार गर्न पाउने अधिकार लिने ।

(ग) अबैध र दुखमा रहेका महिलाहरूलार्इ दूतावासमा सम्पर्क राख्न नेपालमा तिनका परिवारजनहरूमा सूचना प्रबाह गर्ने, स्वदेश फिर्तिमा सरकारले नै सघाउनुपर्ने । नेपाल प्रहरीले हालै सञ्चालनमा ल्याएको हटलाइन टेलिफोन सेवा (नं. +९७७ ११७७) को उपयोग गर्दै प्रहरीसंग पनि समन्वय र सहकार्य गर्ने ।

(घ) दूतावास र नेपाली समुदाय तथा संघसंस्थाहरूले उद्धारमा सहकार्य गर्ने ।

(ङ) सरकारले नै प्रबासमा पीडित बन्ने नेपाली घरेलु महिला कामदारहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि उद्धार कोष बनाउनुपर्ने ।

४. के कस्तो अवस्थामा साउदी अरबमा नेपाली महिलाहरूलार्इ घरेलु काममा पनि पठाउन सकिन्छ ? 

(क) संगठित क्षेत्रमा जस्तै ८ घण्टा र ६ दिन मात्रको ड्युटी, तलब, सुविधा, अधिकार, स्वतन्त्रता, सुरक्षा, बिमा लगायतका सबै सुविधाको प्रत्याभूति तथा सुनिश्चिता भएमा ।

(ख) नियमित रूपमा दूतावासले निगरानी तथा जांचबुझ गर्न पाएमा र हरेक हप्ता फोनमा र महिनामा एक पटक दूतावाससंग प्रत्यक्ष भेटवार्ता हुनसक्ने भएमा ।

(ग) महिला सहचारी सहित सबै महिला कामदारहरूको प्रयाप्त रेखदेख गर्न सक्ने प्रयाप्त जनशक्ति नेपाली दूतावासमा रहेमा ।

(घ) महिलाहरू पनि पुरूष सरह एक्लै स्वतन्त्रतापुर्बक हिडडुल गर्न पाउने अधिकार, संस्कार र प्रचलन स्थापित भएमा ।

मौजुदा परिस्थिती र प्रचलन नसुधारिकनै यदि नेपाली चेलीबेटीहरूलार्इ साउदी अरबमा पठाउने सम्झौता हुन्छ भने त्यो महिलाहरू र सिंगो राष्ट्रकै लागि घातक र दर्दनाक हुने हुंदा हामी त्यसका बिरूद्धमा रहने पुर्ब जानकारी पनि गराउंदछौं ।

गैर आवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, साउदी अरब

मितिः २२ फेब्रुवरी, २०१६