साउदी अरबको खोबरमा कामदारहरू र श्रम तथा रोजगारका उच्च अधिकारीहरूबिचको अन्तरकृया

Published On: Source: NRNA SAUDI ARABIA

२२ सेप्टेम्बर २०१२

NRNA साउदी अरब

नेपाली दूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त आयोजना तथा संयोजनमा साउदी अरबको खोबरस्थित अप्सरा रेष्टुरेण्टको सभाकक्षमा आज एक बिशेष अन्तरकृया सम्पन्न भएको छ । यस कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदी, बैदेशिक रोजगार बिभागका महा निर्देशक पुर्णचन्द्र भटराई, श्रम मन्त्रालयकै सहसचिव बिनोद के.सी., उपसचिव कमल राज भण्डारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत बिशाल भटराई नेपालदेखि आउनुभएको थियो भने साउदी अरबको नेपाली समुदायबाट एनआरएनए साउदी अरब, नेपाली जनप्रगतिशिल मञ्च, लुम्बिनी प्रबासी सम्पर्क मञ्च, प्रबासी नेपाली सेवा समिति, तमुधीं प्रबास एकता समाज, लांघाली मगर संघ का प्रतिनिधीहरू, म्यानपावर ब्यवसायीहरू, रेमिटान्स कम्पनीका प्रतिनिधीहरू, पत्रकार, ब्यवसायी, बुद्धिजिबीहरूका साथै पीडित कामदारहरू समेत गरी ६० भन्दा बढीको सहभागिता रहेको थियो । नेपाली दूतावासका द्वीतिय सचिव बासुदेव देबकोटा तथा पुर्बी क्षेत्रका लागि स्थानीय कर्मचारी हरि घिमिरेको सहयोगमा दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले अन्तरकृया सञ्चालन गर्नुभएको थियो ।

अन्तरकृयाको शुरूवातमै एनआरएनए साउदी अरबका तर्फबाट अध्यक्ष धरम के.सी.ले ८ बुंदे ‘सुझावपत्र’ प्रस्तुत गर्दै सो दस्तावेजलाई कार्यान्वयन गर्न अनुरोध सहित श्रम सचिव लगायत सरकारी टोलीका सबै सदस्यहरूलाई हस्तान्तरण गर्नुभयो, पत्र तल संलग्न छ । नेपाली जनप्रगतिशिल मञ्चका का.बा. अध्यक्ष गिरीराज न्यौपानेले कार्यक्रमको जानकारी अति छोटो समयमा दिएकोमा गुनासो गर्दै समस्या सुन्ने सुनाउने भन्दा पनि कार्यान्वयन गर्नु महत्वपुर्ण हो भन्दै हालसम्मको सरकारी रबैया हेर्दा त्यती बिश्वासिलो र भरपर्दो नदेखिएकाले सरकारी कार्यसम्पादन सुधार्न सुझाव दिनुभयो । यसैगरी अन्तरकृयामा समुदायका तर्फबाट एनआरएनए एनसिसी साउदीका प्रमुख सल्लाहकार तारा भण्डारी, सल्लाहकार रूद्र कार्की, उपाध्यक्ष पुरूषोत्तम श्रेष्ठ, सह कोषाध्यक्ष नारायण पासवान, सदस्य चन्द्र प्रकाश भण्डारी, प्रमोद लामिछाने, लुम्बिनीका अध्यक्ष मनोज बिष्ट, तमुधिंका प्रवक्ता राजपति तमु, पत्रकार सागर श्रेष्ठ, माधव तिमिल्सिनाले श्रमिक समस्याहरूमा आ आफ्ना दृष्टिकोण, अनुभव, जिज्ञासा तथा सुझावहरू राख्नु भयो भने पीडित कामदारहरू राम इकवाल, बिरेन्द्र मण्डल र सुमन सारूले आंफूहरूले लेबर कोर्टबाट मुद्धा जितेको बर्ष बितिसक्दा पनि घरजान नपाएको, तलब सुविधा पनि नपाएको ब्यथा बिसाए भने रोजगारदाताले इकामा (साउदी अरबको आवासीय अनुमति पत्र) नविकरण नगरिदिंदा बिगत १३ बर्षसम्ममा पनि स्वदेश फर्किन नपाएका कृष्ण तामाङले पनि आफ्नो ब्यथा र बिन्ति राखे ।

श्रमिक समुदायका कुराहरू सुनिसकेपछि दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले दूतावासका तर्फबाट बिभिन्न श्रमिक समस्याका केशहरूमा गरिएका पहल र प्रयत्नहरूबारे जानकारी दिनुहुंदै दूतावासले बांकि तथा आइपर्ने हरेक समस्याहरूलाई यथासम्भव समाधान गर्दै जाने बताउनुभयो । यसै क्रममा वहांले साउदी अरबको दमाम, जेद्धा, रियाद र अरारमा समेत पुगी त्यहां स्थित नेपाली समुदाय तथा कामदारहरूसंग प्रत्यक्ष अन्तरकृया गरेको र तिनै कार्यक्रमहरूबाट प्राप्त निचोडका आधारमा दूतावासले छिटै नै बिशेष सुधार कार्यक्रम ल्याउन लागेको अग्रिम जानकारी दिनुभयो ।

बैदेशिक रोजगार बिभागकका महानिर्देशक पुर्णचन्द्र भटराईले पनि सहभागीहरूले राखेका बिभिन्न इश्यु र सवालहरूलाई सम्बोधन गर्दै बिभागका तर्फबाट यी कुराहरू राख्नुभयोः

  • बिदेशमा नेपाली कामदारहरूमा नेपाल र नेपालीको स्पन्दन पाइन्छ र तपाईहरूले पठाउने रेमिटान्स पसीना मात्र होइन रगत र आंशुको फल हो ।
  • ९०% केशहरूमा डिमाण्ड र भिषा म्याच गर्दैनन, अरबिक डिमाण्डमा महिला कामदार तर अंग्रेजी र नेपालीमा त्यसैलाई पुरूष लेखिएका समेत पाइएका छन !
  • साउदीका हकमा दोहोरो करारनामा नै मुख्य समस्याका रूपमा रहेको छ ।
  • पुर्ब स्वीकृति ३ बर्ष सम्म मान्य (Valid) हुने भएकाले कतिपय पुराना स्वीकृति अनुसार साउदी आउने कामदारहरूले नव निर्धारित तलबमान पाउन नसकेको अवस्था हो ।
  • फर्जी (नक्कली) कागजातहरूको प्रयोग एकदमै बढी छ ।
  • सबैको सहयोग हुनसकेमा बैदेशिक रोजगारका समस्याहरूलाई निमिट्यान्नै पार्न पनि सकिन्छ ।
  • कतिपय सुधारकार्य थालेकै कारण बिभाग अहिले घेराउमा छ !
  • अब आउने प्रत्येक नयां कामदारहरूको हातमा ११ किसिमका बिभिन्न कागजातहरू रहेको फाइल (अनिवार्य रूपमा, as a rule) हुनेछ ।
  • दूतावासलाई सबल र साधन स्रोत सम्पन्न बनाउने अभियान जारी छ ।
  • अभिमुखिकरण तालिमका प्रमाणपत्रहरू एअरपोर्ट नजिकै रू. २५-५० मा किन्नै पाइन्थ्यो, अहिले सुधारेका छौं ।
  • पुनः श्रम स्वीकृतिलाई सहज र सरल बनाएका छौं । बिभागमा स्वयमसेवीहरू पनि परिचालन गरेका छौं, पुनः श्रम स्वीकृति लगायतका कतिपय कामहरू बिभागले १० मिनटमै पूरा गर्नसक्छ ।
  • दलालहरूले नाबालक चेलीबेटीहरूलाईसमेत उमेर बढाएर खाडीमा ल्याउने गरेकाले पनि हामीले ३० बर्षको उमेरको हद तोकेका हौं । भारतमा पनि ३० बर्षकै हद छ र श्रीलंकामा २५ बर्षको । उमेरको यो हदबन्दी हटाउन बिभिन्न मानवअधिकारकर्मी र ब्यवसायीहरूको समेत दबाव बढ्दो छ ।
  • बिभागमा बितेको १ बर्षमै सवा अरब रूपैया ठगीका उजुरी परेकोमा पीडित कामदारहरूलाई २४ करोडको क्षतिपूर्ति दिलाइसकेका छौ, अरू ४६ करोड प्रोससमा छ ।
  • दोहोरो करारनामालाई नियन्त्रण र दण्डित गर्न प्रबासी नेपाली समुदायले बिभागलाई सघाउन सक्छ । शुरूको करारनामा बिभागमा हुन्छ, यहां लागु हुने करारनामा र शर्त सुविधाहरूबारे सप्रमाण दूतावास मार्फत बिभागमा जानकारी पुग्नसके तत्काल बिभागले त्यस्तो म्यानपावर कम्पनीलाई कार्बाही गरी पीडित कामदारहरूलाई फरक परेको तलब सुविधा दिलाउनसक्छ र साउदी रोजगारदातालाई समेत दूतावासको सिफारिस भएमा प्रतिबन्धित (Black Listed) बनाउन सकिन्छ ।
  • दलालहरूको खोजी जारी छ, कतिपय पक्राउ परेर हाल जेल सजाय भोगीपनि रहेका छन, धेरै दलालहरूले चैं महिनै पिच्छे मोबाइल नम्बर चेञ्ज गर्नेहुंदा सम्पर्क गर्न कठिनाई हुने गरेको छ ।
  • एफ एम रेडियोहरूबाट जनचेतना जगाउने काम चलिरहेको छ ।
  • नेपाली दूतावासले कार्बाहीको सिफारिस गरे बिभागले कार्बाही गर्छ, म्यानपावर कम्पनीहरूमा अस्वस्थ प्रतिस्पर्धाका कारण पनि धेरै समस्या आएका छन । साउदीका लागि रू. १५ हजार देखि २ लाख सम्म रकम असुलेको पाएका छौं तर रसिद (प्रमाण) हुंदैन, सानो सामानको पनि बिल हुन्छ, कामदारहरूसंग असुलेको रकमको रसिद किन नहुने ?!
  • अबको २ महिनामा रियादस्थित नेपाली दूतावासलाई पनि बिभागको Access Code उपलब्ध गराउने छौं, तत्पश्चात सबै अद्यावधिक रेकर्डहरू सजिलै हेर्न सकिनेछ । हाल यूएईको डाटा अपडेट गर्ने काम हुंदैछ ।

अन्तमा श्रम तथा रोजगार मन्त्रालयका सचिव सोमलाल सुवेदीले भन्नुभयो – अपराधीहरू जहिल्यै पनि कानूनभन्दा एक कदम अगाडी हुन्छन, ८६ मुलुकहरूमा नेपाली कामदार पुगिसक्दा हाम्रा कुटनैतिक निकायहरू भने ३२-३३ मुलुकहरूमा मात्र स्थापना हुनसकेको स्थितीमा सबै अपराध र अनियमितताहरूको निराकरण गर्न अत्यन्तै ठूलो चुनौति पनि छ । हामीले नेपाली महिला कामदारहरूलाई भारतबाट पनि रोक्नका लागि सरकारी स्तरबाटै दोस्रो पटक अनुरोध गरेका छौं । भारत सरकार पनि मानव तस्करी रोक्नका लागि सकारात्मक नै छ । सामाजिक र सार्बजनिक बिषयहरूमा नागरिकले चांसो र सरोकार राख्नु महत्वपुर्ण र सराहनीय काम हुन्छ । हामीले खाडीबाट फर्किने महिलाहरूलाई दिनमा १८ घण्टा काम गर्नुहुन्छ रे, हो ? भन्दा कहिलेकाही त रातै छर्लंगै पनि पार्छौ भन्छन तर त्यही दुखद ब्यथा आफ्ना छर छिमेकमा सुनाउंदैनन, बरू तिनै महिलाहरूले ड्युटी फ्री मा किनेका लुगा र कानका टपको टलकले अझै पनि गाउंमा कति महिलाहरूलाई बैदेशिक रोजगारतर्फ आकर्षण गरिरहेको छ भन्नुभयो । बैदेशिक रोजगारमा हुने ठगी, तस्करी र अनियमितताहरू रोक्नकै लागि हाल Rapid Response Team  कृयाशिल छ भन्ने जानकारी दिंदै वहांले अगाडी भन्नुभयो – अबका दिनमा बिदेशीहरूसंग प्रतिस्पर्धा गर्नसक्नेगरी नेपाली कामदारहरू बिदेश पठाउन सक्नुपर्दछ, यसतर्फ सुधार हुंदैछ, यस्ता सुधारहरू रातारात हुने नभई समय लाग्दछ । वहांको निचोड थियो – आम नेपालीहरूले “लाहुरे संस्कृति” त्याग्न सक्नुपर्दछ, बिदेशमा गरिने दुखले नेपालमै पनि राम्रो आर्जन गर्नसकिन्छ भन्ने यथार्थ बुझ्न बुझाउन आवश्यक छ ।

NRNA साउदी अरबद्वारा प्रस्तुत ‘सुझाव पत्र’

फोटो सौजन्यः अमित गुरूङ