आजबाट बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान

Published On: Source: NRNA SAUDI ARABIA
 


काठमाडौं, १० जेठ

निजी क्षेत्रको अग्रणी बुद्ध एयरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान आज गर्ने भएको छ । बुद्धको पहिलो अन्तर्राष्ट्रिय उडान काठमाडौंबाट भुटानको पारोका लागि हुनेछ ।

यसका लागि उसले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । आजको उडान परीक्षण उडान हुने बुद्धले जनाएको छ । काठमाडौं-पारो १ घन्टाको दूरी हो । गत वैशाख १८ गते नै काठमाडांै-पारो उडान गर्ने घोषणा गरेको बुद्धले विशेष कारण भन्दै उडान स्थगित गरेको थियो । काठमाडौं-पारो सातामा ४ वटा उडान सञ्चालन गर्ने बुद्धले यसअघि नै घोषणा गरिसकेको छ ।

लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी भुटानमा सेवा सुरु गरेको बुद्धले बताएको छ । पारो विमानस्थल ७ हजार ६ सय फिट उचाइमा रहेकाले आफूसँग भएका जहाज उक्त गन्तव्यका लागि उपयुक्त भएको बुद्धको भनाइ छ । हाल बुद्ध एयरसँग ४७ सिट क्षमताका ३ वटा एटिआर-४२ र १८ सिट क्षमताका ४ वटा बि-१९०० जहाज छन् । बुद्ध एयरले चैत दोस्रो साता पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनको प्रमाणपत्र पाएको थियो । बुद्धले क्रस बोर्डर उडान गर्न ‘सी’ वर्गको अनुमति पाएको हो । ३ घन्टाभन्दा बढी उडान गर्न सक्नेलाई ‘ए’, ३ घन्टासम्म उडान गर्नेलाई ‘बी’ र ३ घन्टाभन्दा कम उडान गर्न सक्नेलाई ‘सी’ वर्गको अनुमति दिइन्छ । बुद्धलाई २ घन्टा ३० मिनेटको दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा उडान गर्ने अनुमति मन्त्रालयले दिएको छ । बुद्धले उडान सञ्चालन गर्न लागेका गन्तव्यमध्ये सबैभन्दा लामो दूरी काठमाडौं-पारो १ घन्टा हो भने काठमाडौ-लखनउ र काठमाडौं-पटना ५५ मिनेटको दूरी हो ।

मन्त्रालयले अनुमति दिएको १ वर्षभित्र प्राधिकरणबाट एओसी लिनुपर्छ । एओसी पाएपछि गन्तव्य मुलुकबाट समेत उडान तालिका स्वीकृत गराएर एक वर्षभित्र उडान सुरु गर्नुपर्ने हुन्छ । पटना र लखनउ उडानका लागि बुद्धले भारतको नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएको छ ।

भारतको पटना र लखनउमा आगामी अगस्ट १ देखि उडान गर्ने योजना रहेको बुद्ध एयरका बजार प्रबन्धक रूपेश जोशीले बताए । यसअघि पटना उडान जनकपुरबाट र लखनउ उडान पोखराबाट गर्ने घोषणा गरेको बुद्धले ती विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने पूर्वाधार तयार नभइसकेकाले काठमाडौंबाटै सुरु गर्ने बताएको छ । दोस्रो चरणमा कोलकातामा सेवा विस्तार गर्ने योजना रहेको प्रबन्धक जोशीले जानकारी दिए ।

बुद्ध एयर पहाडी क्षेत्रमा जाने

काठमाडौं/ बुद्ध एयरले संखुवासभाको तुम्लिङटारमा सेवा विस्तार गर्ने भएको छ । तुम्लिङटार विमानस्थलको धावनमार्ग पक्की हुने भएपछि बुद्धले सो स्थानमा सेवा विस्तार गर्न लागेको हो । धावनमार्ग कालोपत्रेको काम सकिनेबित्तिकै सेवा सुरु गर्ने बुद्धले जनाएको छ । ‘सबै तयारी पूरा भइसकेको छ, मिति मात्र तय नभएको हो,’ बुद्ध एयरका बजार प्रबन्धक रूपेश जोशीले भने । तुम्लिङटारमा बुद्धको पहाडी क्षेत्रमा पहिलो सेवा हुने उनले बताए । त्यस क्षेत्रमा माग बढेकाले सेवा सुरु गर्न लागिएको जोशीले बताए । ‘धावनमार्ग कच्ची भएकाले जान सकिएको थिएन । अब तुरुन्तै सुरु गर्छौं,’ जोशीले भने । आफ्नो सेवा विस्तारबाट संखुवासभा र भोजपुरबासी लाभान्वित हुने विश्वास बुद्धको छ ।

हाल बुद्धले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा र नेपालगन्जमा दैनिक उडान सञ्चालन गरिरहेको छ । यी क्षेत्रमा बुद्धले ५ वटा साना र ३ वटा ठूला एटिआर ४२ जहाजबाट सेवा सञ्चालन गरिरहेको छ । तुम्लिङटार विमानस्थलको धावनमार्ग पूर्ण रूपमा पक्की भएपछि ठूलो एटिआरबाट सेवा सञ्चालन गर्न सकिने बुद्धले बताएको छ । हाल तुम्लिङटारमा अग्नि एयर, यति एयरलाइन्स र नेपाल वायुसेवा निगमले साना जहाजबाट उडान भर्दै आएका छन् ।

सरकारले तुम्लिङटारलाई पूर्वाञ्चल क्षेत्रको पर्यटकीय हब बनाउने योजनाका साथ त्यहाँको विमानस्थलको स्तरोन्नति गर्ने काम सुरु गरेको छ, जसअन्तर्गत धावनमार्गको कालोपत्रे गर्ने काम भइरहेको हो । नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटार विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । यसै आर्थिक वर्षभित्रमा कालोपत्रेको काम सकिने प्राधिकरणले बताएको छ । कालोपत्रे बनेपछि विमानस्थलको धावनमार्ग १२ सय १० मिटर फराकिलो हुनेछ ।

साभारः नयां पत्रिका