ActivityModule

मृत्यु शैयामा मेरो देश

Posted Date: Monday, August 16, 2010 | Source: NRNA SAUDI ARABIA

 

 

मञ्जु यादव

16/08/2010

कानुन मान्नु राष्ट्रवाद हो भने कानुन नमान्नु अराजकतावाद हो । अराजकतावाद साहित्यमा सुहाउँछ, राष्ट्रमा होइन । तर, जब अराजकतावाद राष्ट्रका नागरिकहरूमा पलाउन थाल्छ, तब यो घोर आपत्तिको विषय बन्दछ । यो कुरा यहाँ किन उल्लेख गरिएको हो भने नेपालजस्तो राष्ट्रमा अधिकांश अगुवा नागरिक कानुनलाई नितान्त आफ्नै स्वार्थअनुकुल उपयोग गरी राष्ट्रलाई अराजकतावादतिर लम्काउन उद्यत देखिन्छन् । अर्थात राष्ट्र अहिले तीव्र गतिले मर्दैर्र् छ र यस अवस्थालाई जनसाधारण मुकदर्शक भई हेर्न बाध्य भइरहेका छन् । चाहे जननायक विपी कोइराला हुन्, जसले राष्ट्रप्रति दायित्व सम्झाउन ‘एक चिम्टी माटो उठाएर हेर, राष्ट्रको सबै समस्याको समाधान आफैँ निस्किहाल्छ’ भनेका थिए । अथवा, जनकवि भूपि शेरचन नै हुन्, जसले आफ्नो कालजयी रचना ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए’ लेखेर देशवासीलाई त्याग गरेर देश बनाउनुपर्छ भनी सम्झाएका थिए ।

आजको अवस्था पूरै उल्टो भइसकेको छ । महात्मा गान्धीलाई राजेन्द्र प्रसादहरूले ठग्ोजस्तै विपीलाई उनकै अनुयायीहरूले ठग्दै छन् । एक चिम्टी माटो उठाएर के हेर्नु ? युरोपमा बनेको जुत्ताले कुल्चिँदैमा उनीहरूलाई फुर्सद छैन । केन्द्रदेखि गाउँ, जिल्ला तहका नेता/कार्यकर्ता कुस्र्ाीको लुछातानी र राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोगमा लिप्त छन् । त्यस्तै इसाईहरूका ईश्वर ‘इशा’लाई सबभन्दा बढी बफादार बताउने ‘पिटर’ले ठगेजस्तै चरम प्रगतिवादको नारा दिने माओवादीका नेता र कार्यकर्ताहरूमा आफ्नै साथीभाइ र दिदीबहिनीहरूको सहादतप्रति सदभावसमेत देखिन छाडेको छ । उनीहरू पनि राष्ट्रलाई ठग्नुमा नै आफ्नो ‘भविष्य’ खोज्न थालेका छन् सायद । बरु आजकल त अधिकांश नेताहरू दक्षिणपन्थी व्यवहारतर्फ डुब्दै गएका मज्जाले देख्न सकिन्छ । कांग्ा्रेस र माओवादीको बीचमा रहेको एमाले आफ्नो पहिचानलाई गुमाउँदै पर्खालमा झुन्डिएको घडीको पेन्डुलम जस्तो भएको छ । नीति बुझाउन नसकिने एमाले व्यावहारिक रूपमा अरूभन्दा कुशल देखिए पनि पेन्डुलम जस्तो स्वभावका कारण आम जनतामा सकारात्मक छाप छाडनमा असमर्थ हुँदै गएको देखिन्छ । अर्थात राष्ट्रलाई मृत्युको मुखमा धकेल्न यो दलका नेताहरू पनि अरू दलका नेता जत्तिकै जिम्मेवार छन् । मधेसवादी दलहरूको व्यवहार हेर्दा त यिनीहरूमा न राष्ट्रियताको बोध देखिन्छ, न मधेसको विकासप्रति यिनीहरूसँग कुनै मार्गचित्र छ । तथ्यांक केलाउने हो भने विकास-निर्माणका लागि छुट्याइएको बजेटमाथिको भ्रष्टाचारको दौडमा कांग्रेस, एमाले र माओवादीभन्दा मधेसवादी दलहरू आकाशै छुने गरी अगाडि छन् । राष्ट्रिय सतर्कता केन्द्रको अनुसन्धानमा पचहत्तरै जिल्लामध्ये मधेसवादी दलहरूकै हालीमुहाली भएका धनुषा र महोत्तरी घुस खानमा सबभन्दा अगाडि देखिएका छन् ।

यो देशमा क्रियाशील नेता, साधु, गुरुलगायत विभिन्न पेसामा रहेका अगुवा व्यक्तित्वहरू दिनप्रतिदिन अनैतिक क्रियाकलापमा लिप्त भई नितान्त निजी स्वार्थका खातिर क्रियाशील रहनुले जनसाधारणमा निराशा छाउनुलाई अस्वाभाविक मान्नुपर्दैन । यस्तो हुनु भनेको समग्रमा राष्ट्र बिरामी पर्दै जानु हो । यस्तो अवस्था रहिरह्यो भने जसरी महाशक्तिशाली राष्ट्र शोभियत संघ टुक्राटुक्रा भई अनेकौँ राष्ट्रमा विभाजित हुन पुगेजस्तै नेपाल पनि टुक्राटुक्रा हुन बेर लाग्नेछैन । राष्ट्र भनेको नै मानव-मानवको एक बलियो संगठन हो । आधुनिक सिद्धान्तअनुसार राष्ट्र सामाजिक सम्झौताकै उपज हो । विश्वका कैयौँ राष्ट्र विभिन्न कालखण्डमा बिरामी पर्दै आएका छन् । उचित उपचार पाएपछि कमजोर भइसकेका राष्ट्र पनि सफल र सबल राष्ट्रका रूपमा देखा परेका उदाहरण पनि धेरै छन् ।

रोगी मानिसलाई दक्ष वैद्यको जरुरत भएजस्तै रोगी राष्ट्रका लागि दूरदर्शी राजनेताको आवश्यकता पर्दछ । विगतका कालखण्डमा अमेरिका, जापानजस्ता राष्ट्र पनि गम्भीर रूपमा बिरामी परेका थिए । रंगभेदले गृहयुद्ध उत्पन्न गरेको अमेरिकालाई दूरदर्शी नेता अब्राहम लिंकनले कुशलताका साथ निको पारे । जोन अफ केनेडीले त्यहाँको राष्ट्रियतालाई बलियो बनाउन ‘देशबाट के पायौँ ? भन्दा देशलाई के दियौँ भन्ने सोचौँ’ भन्ने उद्बोध दिए । यस्तैयस्तैका कारण छोटो समयमै अमेरिका संसारकै सबभन्दा शक्तिशाली राष्ट्र बन्न पुग्यो । दक्षिण अपि|mका अत्यन्तै विवादित मुलुक थियो । तर, समावेशी प्रजातान्त्रिक मुलुकका रूपमा दूरदर्शी नेता नेल्सन मन्डेलाको नेतृत्वमा विश्वसामु स्थापित हुनपुग्यो । अहिले त्यो राष्ट्र दिनप्रतिदिन तीव्र गतिले उन्नति गर्दै छ । क्यान्सरजस्तो विकृति, विसंगतियुक्त रोगले जर्जर भएको हाम्रो राष्ट्रको उपचारका लागि वर्तमानका नेतृत्वकर्ताहरूले उनीहरूबाट सिक्लान् र हाम्रो देशको उपचार गर्लान् भनेर आमनेपालीलाई आशै लाग्न छाडिसक्यो ।

पूर्वी यूरोपमा विकासको सन्दर्भमा साम्यवादी असफल भए, तर प्रजातन्त्रवादी सफल भए । भारत प्रजातान्त्रिक मुलुक भए पनि साम्यवादी मुलुक चीनभन्दा आर्थिक विकासमा धेरै पछाडि छ । अर्थात, साम्यवाद वा प्रजातन्त्रवादभन्दा राष्ट्रवादको महत्त्व हुँदो रहेछ । जुन देशका नेताहरू क्षणिक स्वार्थलाई त्याग्दै दूरदर्शी विचारधाराका साथ राष्ट्रनिर्माणको अभियानमा लागेका छन्, ती राष्ट्रले पत्याइनसक्नुको विकास गरिरहेका छन् । यस दृष्टिले हेर्दा नेपालका नेताहरूले उठाएका साम्यवाद, पुँजीवाद, मधेसवाद वा क्षेत्रवादलगायतका प्रायः सबै एजेन्डा अहिलेको सन्दर्भमा महत्त्वहीन छन् । त्यसको सट्टा लोककल्याणकारी अर्थव्यवस्थाका साथै सामाजिक न्यायका आधारमा संविधान लेख्न पहल गरिनुपर्छ । यसो गर्न नसकिए राष्ट्र सही र सबल रूपमा अगाडि बढ्न त परै जाओस्, झन् बर्बादीतिर अगाडि नबढ्ला भन्न सकिन्न । यस्तै रवैया रहिरह्यो भने राष्ट्रको मृत्यु हेर्न लामो समय पर्खनुपर्ने छैन । अष्ट्रियाका राष्ट्रपति मैजनीलाई आफू मरेपछि राष्ट्रलाई कसले हेर्ने हो भन्ने पीडाले औधी सताउने गथ्र्यो रे । नुन र सुनसमेत पैठारी गर्नुपर्ने यो राष्ट्रमा अलिकति मैजनीको राष्ट्रवाद, अलिकति अब्राहम लिंकनको दूरदर्शिता र अलिकति नेल्सन मण्डेलाको हिम्मत पैठारी गराउन के कुनै पहल गर्न सकिन्न ?

लेखिका युवा संघ नेपालकी केन्द्रीय सदस्य हुन् ।