ActivityModule

किशोरीहरुलाई पत्र

Posted Date: Friday, August 6, 2010 | Source: NRNA SAUDI ARABIA

डा. अरुणा उप्रेती

प्रिय बहिनीहरू

तिमीहरूमध्ये जसले यो पत्र पढ्छौ, कतिपय सायद अंग्रेजी स्कुलमा पढिरहेका होऔला, कतिपय सहरका सरकारी स्कुलमा र कतिपय गाउँघरका स्कुलहरूमा वा ११-१२ कक्षामा पढिरहेका होऔला । कति बहिनीहरूले चाहिँ ८-९ कक्षा पढेर छोडेको होला । कतिपय कामको बोझले वा आमाबुबाले अब पढ्न पुग्यो भनेर स्कुल छोडाइदिएको होला । कतिपय किशोरीहरूचाहिँ स्कुलमा पढ्दा-पढ्दै कोही किशोरसँग प्रेम गरेर, घरबाट भागेर विवाह गरेका होला र जब केही समयपछि “बेकाममा विवाह गरेको, अहिले नर्कजस्तो भयो” भनेर भनेको होला । कतिपयलाई आमा बनेपछि श्रीमान वा पे्रमी भागेर बेपत्ता भएपछि धोका भयो भन्ने ठानेर आत्महत्याको प्रयास पनि गरेका होला । अर्थात् जिन्दगीमा कतिपय समस्याबाट आजित भएको होला ।

 कतिपय किशोरीहरूचाहिँ पढेर राम्रो काम गर्दै शिक्षक गर्छु भन्ने भावना बोकेर पढिरहेको होला । अहिलेको परिवेशमा किशोरीहरूलाई एकापट्टि एकदम धेरै मौका छ भने अर्कोतिर खुला परिवेश, रेडियो, टीभी, पत्रिका आदिबाट ज्ञान पनि प्राप्त गरेका होला । किशोरीहरूले “केटा साथी भएन भने त अरूको अगाडि लाज हुन्छ” भनेर सम्बन्ध पनि गरेको होला र शारीरिक संरचना कस्तो हुन्छ, कसरी गर्भवती भइन्छ, किन किशोर अवस्थामा यौनसम्पर्क राख्न हुँदैन भन्ने ज्ञानको अभावले गर्दा यौनसम्पर्क राखेर गर्भपतन गराएको पनि होला ।

नेपालमा गर्भपतनको सुविधा हुनुपर्छ भनेर आवाज उठाएर लामो संघर्ष गरेपछि आजभन्दा ८ वर्षअघि गर्भपतनको सुविधा विभिन्न ठाउँमा पुगेको छ । आफ्नो शरीरमाथि आफ्नै अधिकार हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर हेर्ने हो किशोरीहरूले । एउटा कुरा के बुझ्नुपर्छ भने सानो उमेरमा राख्ने यौनसम्पर्क र प्रेमको नाममा जिम्मेवारीलाई वास्ता नगरेर यौनसम्पर्क राखेर गर्भ रहेर समस्याको सिर्जना गर्नुको अर्थ हो- तिमीहरूले आफ्नो शरीरलाई आदर गरेका छैनौ । तिमीहरूले प्रेमलाई केवल यौनसम्बन्धसँग मात्रै जोडेर हेर्छौ र “यौनसम्पर्क भएर के भो त, गर्भपतन त गराइहाल्छु नि” भन्ने विचार गर्छौ । यदि यस्तो हो भने तिमीहरूले ठूलो भूल गरिरहेका छौ । सबभन्दा पहिले त किशोरीहरूले यौनसम्पर्क गर्दा उनीहरूले आफ्नो शरीरमाथि के-के समस्या हुनसक्छ भन्ने कुरा बुझेका हुँदैनन् । तिमीहरूमध्ये कमैलाई थाहा होला कि किशोर अवस्थामा यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुने सम्भावना हुन्छ ।

फेरि यदि गर्भ रह्यो भने गर्भपतनको सुविधा छ भने पनि तिमीहरूलाई कतिपय कठिनाइ पर्न सक्छ । सानो उमेरमा तिमीहरूको शरीर राम्रोसँग परिपक्व नहुने भएकोले यौनसम्बन्ध राखेपछि प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

आजभन्दा २४ वर्षअघि जब म भर्खर डाक्टर पास गरेर प्रसूतिगृहमा काम गर्दै थिएँ । मैले १० वटाजति यस्ता घटनाहरू देखेँ । एउटा घटना त मेरो छिमेकमै भएको थियो । १७ वषर्ीया रेखाकी आमा विभिन्न ठाउँमा भाडा माझेर काम गरे पनि छोरीलाई स्कुल पठाउँथिन् । तर रेखा प्रेममा फँसिन् र मनकामनातिर जाँदा उनको शारीरिक सम्पर्क भएपछि गर्भवती भइन् । ४-५ महिनापछि उनकी आमाले रेखालाई त बान्ता भइरहन्छ, रूचि छैन, हेरिदिनोस्न भनिन् । मैले रेखालाई जाँच गरेँ, पेट ठूलो भएको त देखेँ, तर गर्भ रहेको शंका नै भएन र म सिकारु जाे थिएँ, अनि मैले प्रसूतिगृहमा स्त्रीरोग विशेषज्ञलाई जाँचिदिन आग्रह गरेँ । जाँच गरेपछि डाक्टरले मलाई भन्नुभयो, “उनी त ७ महिना कि गर्भवती छिन् ।” म त छाँगाबाट खसेजस्तै भएँ । “तर उनको विवाह त भएको छैन”, मैले भन्दा डाक्टरले भन्नुभयो “गर्भ रहन विवाह गर्नै पर्दैन । सोध्नु रेखालाई ।”

उनको ७ महिनाको गर्भ एउटा प्राइभेट क्लिनिकमा लगेर पतन गराइयो । डाक्टरले भन्नुभएको थियो, “तपाईंको बहिनीजस्तो भन्ठानेर मात्र यो गरेकी हुँ । त्यसरी सानो उमेरमा पनि गर्भवती हुने हो र ।” त्यो घटनापछि रेखाको जीवन नै बदलियो । उनी परिवारबाट अपहेलित भइन्, २४ वर्षपछि पनि अहिले उनी मानसिक रूपमा दुःखी छिन् ।

तिमीहरूले कतिपयले भोगेको होला, गर्भपतन नहोस् भन्नका लागि हामी यौनसम्पर्क गरेपछि “इमर्जेन्सी औषधी” खाउँलानि त । तर  यसरी जथाभावी औषधी प्रयोग गर्दा तिमीहरूको स्वास्थ्यमा कति नराम्रो असर पर्छ भन्ने कुरा तिमीहरूलाई थाहा छ कि छैन ?

त्यसमाथि पनि जोसँग यौनसम्पर्क भएर गर्भ रहन्छ, उसले त्यो किशोरीलाई सहानुभूति राख्ला भनेर भन्न सकिँदैन । किशोर अवस्थाको प्रेम पानीको फोका हुन्छ । अनि यस्तो घटनापछि त किशोरीहरूलाई पढाइमा मन लगाउन पनि गाह्रो हुन्छ । किशारीहरू, तिमीहरूलाई पहिलेको तुलनामा धेरै सुविधा छ । शिक्षाको सुविधा छ, तर उपयोग गर्नुको सट्टामा तिमीहरूले दुरुपयोग गर्‍यौ भने त राम्रो भएन नि । नैतिकता र अनैतिकताको दृष्टिकोणले यौनसम्पर्कलाई हेर्ने कोसिस गर्नु

हुँदैन । तर तिमीहरूले आफ्नो स्वास्थ्यको ख्याल राखेर शारीरिक र मानसिक स्वस्थ हुँदै किशोर अवस्थामा यौनसम्पर्क नगरेकै ठीक हुन्छ । प्रेम गर्नु नराम्रो होइन । तर यसले त जीवनलाई अघि बढाउन उत्साह दिनुपर्छ ।

 प्रेमको नाममा सानो उमेरमा यौनसम्पर्क गरेर जीवनलाई अँध्यारो बनाउने काम भयो भने त के अर्थ रह्यो र । शरीरलाई विभिन्न किसिमका यौनरोगबाट मुक्त राखेर जब तिमीहरू जीवनको जिम्मेवारी लिन सक्षम हुन्छौ, अनिमात्र सम्बन्ध गरेपछि जीवनको रंग नै अर्को हुन्छ । । कति किशोरीहरूले “अब त जे हुनु भइसक्यो, यस्तो पत्रको मतलब छैन” भन्लान् । तर स्वास्थ्यकर्मी भएको नाताले र छोरीहरूको आमा भएको नाताले मैले आफ्नी छोरीहरूलाई जे सिकाएको छु, त्यो नेपालका किशोरीहरूलाई बुझाउन सक्छु भन्ने आशय हो । अब के गर्ने वा प्रेमीलाई के भन्ने जिम्मा त तिमीहरूकै हो ।