ActivityModule

NRNA भित्र महिला सहभागिता ?

Posted Date: Friday, July 30, 2010 | Source: NRNA SAUDI ARABIA

अनुराधा पौडेल, फ्रान्स  ।

अस्ति भर्खर अमेरिकामा भएको एनआरएनको क्षेत्रीय सम्मेलन र अब जुलाई ३० मा फ्रान्समा हुने युरोपेली मिटिङ अहिलेका लागि महत्बपूर्ण हो ।  दोहोरो नागरिकता हेटौंडा-काठमाडौं सुरुङमार्ग या ठाउँ-ठाउँमा लगिएका साना-ठूला गैरआवासीय नेपालीका प्रोजेक्ट र ठुल्ठूला लगानीका कारण अचेल गैरआवासीय नेपाली संघको चर्चा ऊ आफैले भन्दा मिडियाले निकै गरिरहेका छन् ।  एनआरएन भनेपछि सरकारले रातो कार्पेट ओछ्याउने विदेशी दूतावासले प्रभावशाली पदमा पुगेका व्यक्तिलाई खुल्लमखुला भोजै खुवाउने अवस्था आइसकेको छ । सानोतिनो राजनीतिक हस्तक्षेप पनि सुरु भएको छ । गत दसैँमा केन्द्रीय चुनाव जितेपछि उच्च पदमा पुगेका केही प्रभावशाली व्यक्ति तथा एनआरएनका सदस्यलाई विदेशी दूतावासले दिएको रात्रिभोज सम्´नलायक छ । विदेशमा बसेका नेपालीलाई लिप्त गरेर दिइएका र भविष्यमा दिइने यस्ता रात्रिभोजले राष्ट्रिय हितलाई असर गर्छ कि गर्दैन र एनआरएनमार्फत विदेशी शक्तिले चलखेल गर्ने ठाउँ खोज्छ कि खोज्दैन भन्ने कुरा राष्ट्रिय हित हेर्ने विज्ञलाई थाहा होला । अहिलेका अफगानी राष्ट्रपति स्वयं लामो समय अमेरिका बसेर अमेरिकी स्वार्थको प्रशासन चलाउन सकि्रय भएका कारण मलाई सानो शंका उठेको हो । हाम्रा प्रवासी नेपाली दाजुभाइमाथि शंका त नगरौँ तर दोहोरो नागरिकताको चर्चा भयो कि संकटकालका वेला प्रवासमा रहेका नेपालीले पनि राज्यको प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने प्रश्न उठ्ने गर्छ । यत्रो हैसियत भइसकेको र नेपालीको विशाल साजालका रुपमा संसारैभरि फैलिएको एनआरएनभित्र महिला कहाँ छन् म यस विषयमा चिन्तित छु ।
महिला सहभागिता नै शून्यको अवस्थामा रहे पनि कुनै पनि संघसंस्था राम्ररी चल्छ भन्ने उदाहरण एनआरएनले दिन्छ । किनभने एनआरएनमा सबैभन्दा उच्च मानिएका संरक्षक सल्लाहकार केन्द्रीय तथा क्षेत्रीय समितिका गरी ९० उच्च पद छन् । जसमा महिलाको संख्या जम्मा सात छ । यसरी हेर्दा एनआरएनमा महिलाको ६ प्रतिशतजति सहभागिता छ त्यसमा पनि एनआरएनको अन्तर्राष्ट्रिय महिला समितिका दुई महिलालाई पनि गन्ने हो भने । एनआरएन ५५ देशमा फैलिएको छ । महिला छन् त केवल शाखाका कुनै एकाध वा दुई सदस्य पदमा । महिला शून्य एनआरएनका कैयौँ देश छन् । अध्यक्ष देवमान हीराचनको कर्मभूमि स्वयं जापानको एनआरएन पनि एक हो । खाडीमा काम गर्न जाने नेपाली दिदीबहिनीको कर्मभूमिका एनआरएनमा पनि महिला सहभागिता झन्डै शून्यको अवस्था छ । पेट्रोन काउन्सिलका सदस्य रामप्रताप थापाको कर्मभूमि जर्मनीको २३ सदस्यीय एनआरएनमा केवल एक महिला सदस्य अन्तर्राष्ट्रिय महिला प्रतिनिधिलाई छाडेर भन्नुपर्दा छन् । एनआरएनका उपाध्यक्ष जीवा लामिछाने र सागर नेपालका कर्मभूमि रसिया र कतारका एनआरएनमा समेत महिलाको सहभागिता टिठलाग्दो देखिन्छ । युरोपका एनआरएनमा आक्कल-´झुक्कल महिलाको उपस्थिति देखिए पनि महिलाको रुचि र सकि्रयता पुरुषको तुलनामा नगन्य छ भन्ने कुरा दुईपटकसम्म भएको एनआरएनको ८ मार्च कार्यक्रमले पनि पुष्टि गरेको छ ।
म आफैँ गैरआवासीय नेपाली महिला हुँ । मैले देखेको गैरआवासीय नेपालीहरुको संगठनमा पुरुषको गति र सहभागिता वेग तेज आँधी र एम्बुलेन्सको हर्नजस्तो तर महिला सहभागिता कुलोको बहाव र साइकलको घन्टीजस्तो अवस्था छ । बाफ रे † पुरुष-पुरुष मिल्यो भने तीव्र गतिमा स्वार्थ तथा चाहनाहरुको उठान हुनेरहेछ । चर्को प्रतिस्पर्धा र तँछाड-मछाड पनि निकै हुनेरहेछ । राजनीतिक पार्टीमा जस्तो लबिङ हुँदोरहेछ । खुट्टा तान्ने र पछार्ने खेल खेलिँदोरहेछ । यस्तो अवस्थाको संगठनमा महिलाले चाहिँ कुन कुनाको कुर्ची खाली छ भनेर हेर्नुपर्दोरहेछ । महिला सहभागिता र आवश्यकताका कुरा उठाउनु नै कता-कता हास्यास्पद लाग्दोरहेछ । यस्तो लागे पनि साँचो कुरा त यही हो कि लैंगिक असमानताका दृष्टिले एनआरएन एकदम पिछडिएको र अपूर्ण छ । त्यहाँभित्रका पुरुषको ज्ञान र क्षमता निश्चय नै सन् २०१० को जस्तो नभई लगानी र नाफा-घाटाका कुरा उठ्दैनन् होला । तर यस्ता हस्तीले हाँकेको एनआरएन सन् १९७० या ८० को दशकको नेपाली संघसंस्था र सरकारमा रहेका महिलाको सहभागिताको जस्तो छ ।
नेपालमा प्रजातन्त्रपछि गणतन्त्र आइसक्यो र जताततै समानतामूलक सहभागिताको कुरा उठेको उठ्यै छ । गाउँदेखि संसद्सम्म समानुपातिक प्रतिनिधित्वको कुरा आइरहेछ । आºनो मुलुकमा समयानुसारको राज्यव्यवस्थामा परिवर्तन हुनुपर्छ भनेर बोल्ने आफ्नै मातृभूमिमा लगानी गर्ने आफूले जानेको सीप र क्षमतालाई मातृभूमिकै सेवामा उपभोग गर्ने भनेर कसम खाने एउटा  संस्थाले मातृभूमिको परिवर्तनलाई आत्मसात् गरेको देखिएन । न त विदेशमा उहाँहरुले सिक्नुभएको समानतामूलक समाजको परिकल्पनालाई नै आत्मसात् गर्न सक्नुभएको देखिएको छ । यदि उहाँहरुले त्यो देख्नुभएको भए र बुझ्नुभएको भए त्यसको ´लक संघमा पर्नुपर्ने थियो । न त मैले आजसम्म यो संघभित्र महिलाका लागि सके समानुपातिक नसके कम्तीमा ३३ प्रतिशतको सहभागिता सकि्रयता पनि होइन हुनुपर्छ भनी कसैले बोलेको नै सुनेको छु । मैले दुई-दुईपटक एनआरएनबाट आयोजित मार्च ८ को युरोपस्तरीय नेपाली महिला सम्मेलनमा भाग लिने मौका पाएकी छु तर दुःखको कुरा एनआरएनभित्रको यत्रो विविधताबारे एक शब्द कसैले बोलेको सुनेकी छैन । आफैँभित्र कुण्ठित भएर आºना अधिकार माग्न नसक्ने हामीले आउँदा वर्षमा कुन मुख लिएर कसरी फेरि मार्च ८ मनाउने हो
जमाना फेरियो । फेरिँदै छ र फेरिनेछ । संसारभर जे-जति संघसंगठन छन् अचेल तिनमा लैंगिक समानाताको कुरा उठ्न थालेको छ । सुरुमा महिलालाई आकर्षित गराउन सहभागितामूलक संगठनको अवधारणा ल्याइएको छ । महिला कुनै पनि संघसंगठनमा सहभागी भएपछि त्यसभित्रका कुरा सिक्ने हुन् । जसले पछि उपलब्धिमूलक परिणाम दिन्छ र प्रतिस्पर्धामा महिला आउन सक्छन् । सुरुमै खै र गतिला महिला भनेर पन्छने आउन चाहनेहरुका ढोका बन्द गरिदिने कसैले महिला अधिकारका कुरा उठायो भने कुन पद चाहिएर बोल्नुभयो कुन्नि † भनी थेचार्ने प्रवृत्ति महिला पे्ररणाका लागि बाधक तत्व हुन् ।
एनआरएनमा पुरुष प्रतिनिधिले दयाले व्यवस्था गरिदिएका केही पदबाहेक निर्णायक पदमा महिलाको उपस्थिति शून्य छ । एकाध केन्द्रीय समितिमा सदस्य छन् । एकाध महिला सल्लाहकार छन् । दर्जनजति देशमा चाहिँ समितिमा महिला प्रतिनिधि भनेर राखिएका तर निष्क्रिय छन् । एनआरएनको विधानले कतै पनि महिला सहभागिता बढाउने विषयमा केही लेखेको छैन । यो फ्रान्सको संविधानजस्तै लैंगिक हिसाबले तटस्थजस्तो छ । फ्रान्सजस्तो विकसित मुलुकमा त तटस्थताको सिद्धान्तले महिलालाई अपमान गर्छ भन्ने कुरा उठिरहेको छ भने भर्खर हुर्कंदै गरेको एनआरएनले लिएको तटस्थताको भूमिकाले महिला सहभागितालाई निरुत्साहित पार्छ । एनआरएनले उठाउने मुद्दा नेपाली पुरुषका मात्र नभएर नेपाली महिलाका पनि हुन् । दोहोरो नागरिकता पुरुषलाई मात्र नभएर विदेशीसँग विवाह गरेर आउने नेपालीआमालाई पनि चाहिएको छ । महिला पैसा कमाउन र लगानीका कुरा गर्न मात्र आºनो योग्यता र सीप विदेशमा समेत बेच्न सक्षम छन् । विदेशमा रहुन् या स्वदेशमा महिला घरधन्दा गर्नका लागि हुन् संघ-संस्थामा काम गर्नका लागि होइनन् भन्ने सोचाइमा पूरै परिवर्तन आउनुपर्ने देखिन्छ । सात प्रतिशत महिला सहभागिता रहेको एनआरएन आजसम्म प्रवासी नेपाली महिलाका लागि मैत्री संगठन होइन । यो महिलाहरुको आवागमनलाई निरुत्साहित पार्ने अन्तर्राष्ट्रिय संघ हो र यसलाई महिलामैत्री बनाउन निकै कसरत गर्नुपर्ने देखिन्छ ।
महिला भनेपछि किन यति धेरै तिक्तता र रिक्तता हो भन्ने जवाफ आजसम्म कतैबाट पाइएको छैन । भलै आज नेपाली पुरुष पुगेका हरेक ठाउँमा उत्तिकै सशक्त नेपाली महिला पनि छन् । महिला सहभागिताका दृष्टिले सक्षम र सवल बनाउन सर्वप्रथम एनआरएनको विधान संशोधन हुनुपर्छ र एनआरएनमा रहेका पुरुष मित्रहरुले समेत महिलाको सहभागितालाई अनिवार्य ठान्नुपर्छ । वेलाबखत हुने गरेका क्षेत्रीय मिटिङ र सम्मेलनले महिलालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ । तब पो हरेक प्रवासी नेपाली महिलालाई यो मेरो संगठन हो भन्ने छाप पर्छ ।